न्युजिल्याण्डको विजयी सुरुवात

चैत २ । भारतमा जारी आईसीसी टी–२० वल्र्डकप क्रिकेट अन्तर्गत दोस्रो चरणको खेलमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । सुपर टेन अन्तर्गत गएराति नागपुरमा भएको खेलमा न्युजिल्याण्डले घरेलु टोली भारतलाई ४७ रनले हराएको हो । सुपर टेन अन्तर्गत समूह ‘दुई’ को खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा मात्रै ७९ रन बनाउंदा अल आउट भयो । भारतका कप्तान महेन्द्रसिंह धोनीले ३० बलमा ३०, विराट कोहलीले २७ बलमा २३ तथा रविचन्द्रन आश्विनले २० बलमा १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आशिष नेहरा, रविन्द्र जडेडा र जसप्रित बुमराह एक रन पनि नजोडी आउट भए । यस्तै शिखर धवन, सुरेश रैना र हार्दिक पाण्डेयले समान एक एक रन बनाएर पेविलियन फर्किए । रोहित शर्माले पाँच तथा युवराज सिंहले चार रन बाहेक जोड्न सकेनन् । न्युजिल्याण्डका मिचेल सन्टनरले चार तथा इसा सोड्हीले तीन विकेट लिए । यस्तै नाथन म्याकुलमले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय २६ रन बनायो । उसका लागि कोरी एण्डरसनले ३४, लुके रोनचीले नटआउट २१ तथा मिचेल सान्टनरले १८ रन बनाए ।

तपाईको प्रतिक्रिया