बेनी–देउराली सडकको स्तरवृद्धी, साँढे दुई करोड खर्च

म्याग्दी–कार्तिक । म्याग्दीको सदरमुकाम बेनीदेखि अर्थुङ्गे जोड्ने बेनी–देउराली सडकको साढे दुई करोड रुपैयाँको लगानीमा स्तरोन्नती सम्पन्न भएको छ ।

जिविस मातहतको विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजना अन्तर्गत दुई करोड ४७ लाख ८२ हजार रुपैयाँको लागतमा ३ किलोमिटर १८० मिटर सडकको स्तरवृद्धी पुरा गरिएको हो । चार सय मिटर सडक पिसीसी, आरसीसी ढलान गर्नुका साथै ग्राभेल गर्ने, नाली बनाउने, चक्लाउने, पक्की बनाउने र ग्याविन पर्खाल लगाउने काम सम्पन्न भएको छ । परियोजना अन्तर्गत बिवादीत सडक बाहेकको ठाउँमा छ मिटर फराकिलो समेत बनाइएको आयोजनाले जनाएको छ ।

२०७१ फागुनमा सम्पन्न गर्ने लक्ष्य सहित असारमा ठेक्का सम्झौता गरेको शिवशक्ति/नाना जेभीले निर्धारीत समय भन्दा करिब बिस महिना ढिलो काम पुरा गरेको हो । ढिलाई गरेपछि आयोजनाले ठेकेदार कम्पनीलाई २०७३ बैशाख १६ गतेदेखि दैनिक १२ हजार ६ सय ५ रुपैयाँका दरले जरिवाना तिराएको आयोजनाका ईञ्जिनियर बिवेक केसीले बताउनुभएको छ । प्रभावित क्षेत्रका बासिन्दाको असहयोग, बिवाद, दातृ निकाय एशियाली विकास बैंक, ठेकेदार र कर्मचारीहरुको ढिलासुस्तीका कारण लक्ष्य भन्दा तेब्बर बढी समय लागेको बताइएको छ ।

सडक स्तरवृद्धी भएपछि बेनी नगरपालीकाको अर्थुङ्गे, पुलाचौर, घतानका साथै पात्लेखेत, झिँ, पाखापानी, मल्कवाङ र कुईनेमंगले गाविसका स्थानीले सुबिधा पाएका छन् ।

तपाईको प्रतिक्रिया