अछूतो महिला हैनन्, अछूतो त समाजको रूढीवादी सोच हो

दिप्ती भट्ट । यो चलन कसैले बनायो मलाई खुब तोड्न मन लाग्छ । अनि कहिलेकाँही त सोच्छु प्रकृतिमा आउने बाढी पहिरो जस्तै केही चिज आएर यो सारा खराब चलन बढारेर लगेपनि हुन्थ्यो नी । के महिनावारी हुनु पाप हो ? हैन नी ? अनि के यो महिलाको पूर्व जन्मको फल हो ? त्यो पनि हैन नी ? यदि हैन भने एउटा प्राकृतिक प्रक्रिया, महिलाको महिनावारी हँुदा सजाय किन ? अहिले म कुरा गर्दै छु सुदूरपश्चिमेली समाजको । हुन त यो नेपालका अधिकांश समाज भित्रका महिलाले केही न केही रूपमा भोग्दै आएको समस्या हो । स्ुदूरपश्चिमका समाजमा आज महिलाले महिनावारी हुँदा सात दिनसम्म कष्टकर रूपमा घर भन्दा बाहिर तरकेर बस्नुपर्छ । सात दिनको यो अवधिमा महिलाले पुरूषलाई न त छुन पाउँछन् । न त महिलालाई घरको भित्रको काम गर्ने अनुमति नै हुन्छ । जब महिनावारी हुन्छ तब महिला अछूत बन्छे । ऊ मानिसको दर्जाबाट झरेर छुन पनि नहुने बन्छे । विना गल्ती विना कारण महिलाले ७ दिनसम्म जेलको केदी जस्तै भएर बस्नुपर्छ ।

म पनि एउटा सुदूरपश्चिमेली महिला पात्र नै हुन् । मैले पनि नचाहँदै नचाहँदै देखावटी रूपमा समाजबाट सुरक्षित हुनको लागि धेरै पटक अछूतो बनेर घर भन्दा बाहिर बसेको छु । म मात्र हैन सूदुरपश्चिमका हजारौ हजार महिलाहरू महिनावारी हुँदा यसरी नै घर बाहिर अछूतो बनेर बस्न बाध्य छन् । प्राकृतिक रूपमै महिनावारी महिलाको एक अनिवार्य शर्त हो । महिनावारी हुँदा महिला अछुतो हुन्छ भन्ने कुरामा कुनै बैज्ञानिक आधार छैन । महिला अछूतो हैनन्, अछूतो त यो समाजको रूढीबादी चलन हो जसले महिला पात्रलाई सहज रूपले अघि बढ्न दिएको छैन । महिनामा ७ दिन र बर्षमा ८४ दिन त सुदूरपश्चिमका अधिकांश महिलाले अछूतो भएर घर बाहिर गोठमा वा छाडिएको घरमा बस्नुपर्ने बाध्यता छ । अहिले महिला हिंसा विरूद्धका चर्का आन्दोलन भइरहेका छन् । महिला अधिकारका बहस पनि धरै चलेका छन् । तर ति आन्दोलन र बहसहरूको यर्थातसँग तालमेल मिलेको छैन । गोठमा बस्नेलाई मात्र थाहा हुन्छ की अछूतो भएर गोठमा बस्नुको पीडा । गाँस, बास र कपासलाई हरेक ब्यक्तिको पहिलो आधारभूत आवश्यतका मानिन्छ । तर महिलाले महिनावारी भएकै कारण महिनामा सात दिनसम्म आफ्नो बास छाडेर गोठको बास बस्नु पदर्छ । आजको युग एक्काइशौ शताब्दीको भनिन्छ तर समाजको सोच र चलन अझै १७/१८ औं शताब्दीको जस्तो छ ।

महिनावारी हुँदा महिलालाई सामान्य पीडा पनि हुने भएकाले उसलाई सरसफाई र हेरचाहको आवश्यकता पर्दछ तर यो रूढीबादी यो समाज महिलालाई गोठतिर खेद्छ । आमा संसारको सबैभन्दा प्यारो ब्यक्ति र शब्द हो । तर तीनै आमाहरू अझैपनि सूदुर पश्चिमका कतिपय ठाउँहरूमा बच्चा जन्मिदा गोठमा बस्न बाध्य छन् । समाजले कुन तथ्यलाई आधार मानेर यो खराब चलन चलायो जसको जरा नउखेलियसम्म महिला पूर्ण मान्छे भएर बाँच्ने सक्ने स्थिति यो समाजमा छैन । यो समस्या सुदूरपश्चिमको मात्र हैन, सारा नेपाली समाजको समाज समस्या हो । कुरा थोरै र धेरैको मात्र । महिलाले महिनावारी हुँदा हरेक समाजमा समस्या झल्दै आउनु परेको छ । महिनावारी हुँदा महिलाले चुल्हो चौकामा गएर पकाउन हुँदैन र  उसले पकाएको अरूले खाना हुदैन भन्ने मान्यता पहिले देखि नै छ । पूर्वदेखि पश्चिमसम्मका सबै समाजमा यो मान्यताले अझै पश्रय पाइरहेको छ । शहरी होस् या ग्रामिण क्षेत्र महिनावारीको केही दिन महिलाहरू पर बस्ने भन्ने चलन छ ।

महिनावारीको बेला महिलाले चाडपर्व मनाउन हुँदैन र मन्दिरमा पूजा गर्न जान हुन्न भने मान्यता पनि रहिआएको छ । यि र यस्ता धरै कुराले गर्दा महिला अझै समाजको रूढीबादी घेराभित्र छन्, जसले महिला माथि प्रत्यक्ष मानसिक हिंसा गरिरहेको छ । महिला महिनावारी हुँदा घरभन्दा वाहिर गोठमा बस्नुपर्छ, अरूलाई छुन हुदैन भनेर न त कुनै धर्म ग्रन्थमा उल्लेख गरिएको छ, न त यसको पछाडी कुनै वैज्ञानिक कारण नै छ । यो त केवल अग्रज भनिने विच्छीहरूले चलाएको कुसस्कार हो मात्र जसले हामी नेपाली समाजका महिलाहरूलाई विजाइरहेछ ।

यो कुसस्कार हिजो मेरी आमाको पालामा परिवर्तन हुन सकेन । किनकी त्यतिबेला पनि समाज अशिक्षित नै थियो । मेरी आमाले समाजको रूढीबादी परम्पराले जे–जे भन्छ त्यही–त्यही गर्नुभयो । अनि मलाई आफूले अपनाएकै संस्कार अनुसार अघि बढ्न भन्नुभयो सायद समाजबाट बच्नको लागि मेरी आमाले त्यसो गर्नुभएको थियो होला । तर आजको हाम्रो पुस्ता केही न केही शिक्षित  भएको छ । सही के हो र गलत के हो केही छुट्याउन सक्ने भएको छ । त्यसैले यही यो कुसस्कार बदल्न हामी आफै अघि बढौं ताकी भोली हाम्रा छोरीहरू यो कुसस्कारको बन्धनमा पर्न नपरोस् । र उनीहरू पूर्ण मान्छेको रूपमा यही समाजमा बाँच्न पाऊन् ।

–सुदूरपश्चिमेली लेखक भट्ट त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता र आम सञ्चार विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।

Published On: Time : 10:30:34  2423पटक हेरिएको

तपाईको प्रतिक्रिया