बुद्ध तथा भूकम्प स्मारक पार्क बन्ने

काठमाडौं–भूकम्पमा परी निधन भएकाहरुको स्मृतिमा बुद्ध तथा भूकम्प स्मारक पार्क बन्ने भएको छ । सिन्धुपाल्चोकको पाल्चोक–९ नागि डाँडामा २०७२ वैशाख १२ र २९ गतेको भुकम्पमा परी निधन भएकाहरुको मुक्तिको कामना सहित पार्क बन्न लागेको हो । बुद्ध तथा भुकम्प स्मारक पार्कमा भूकम्पमा परी सिन्धुपाल्चोकमा निधन भएका ३६६० जनाको अभिलेख राख्ने उद्देश्य लिइएको छ । ‘भुकम्पमा परी निधन भएकाहरु भगवान अभिताभ बुद्धको सुखवति भुवनमा जन्म लिन सकून भन्ने उद्देश्यले भुकम्प स्मारक पार्क बनाउन लागेका हौँ । ’ पार्क निर्माण समितिका संयोजक छेवाङ लामाले जानकारी दिनुभयो । १८ रोपनी जग्गामा १० करोड ५ लाखको लागतमा पार्क बनाउन लागिएको उहाँले बताउनुभयो । पार्कको बौद्ध विधि एवं धर्म परम्परा अनुसार हालै सलङ अर्थात भूमिपूजा गरियो । बौद्ध विधि अनुसार ङवाङ रिम्पोछे गुरुबाट पार्कमा भूमिपूजा गरिएको थियो । पार्कमा विनाशकारी भुकम्पमा सिन्धुपाल्चोकमा निधन  भएकाहरुको नामावली सहित अभिलेख राखिने भएको छ । पार्क निर्माणका लागि स्थानीयबासीले चन्दा र सहयोग अभियान थालेका छन । सांसद् ल्हारक्याल लामाले पार्क निर्माणमा १० लाख र ७ रोपनी आफ्नो जग्गा उपलब्ध गराउनुभएको छ ।

पार्क निर्माण समिति संयोजक छेवाङ लामाका अनुसार ह्योल्मो क्षेत्र धार्मिक, पर्यटकीय र सांस्कृतिक विशेषता बोकेको क्षेत्र भएकाले हेलम्बु गाउँपालिका ३ को नागि डाँडामा पार्क निर्माण गर्न लागिएको हो । ‘ह्योल्मो क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण छ । आठौं शताब्दीमा गुरु पद्यसम्भवले पाइला टेकेको, अर्का गुरुले यहीं तपस्या गरेर बुद्धत्व प्राप्त गर्नुभएको कारणले पनि यस स्थल धार्मिक रुपमा उपर्युक्त छ ।’ लामाले स्पष्ट पार्नुभयो । पार्क बनेपछि हरेक वर्षको वैशाख १२ गते पार्कमा बौद्ध धर्मका प्रखर गुरुहरुसहित पाठमोलम, प्राणीदान,दीप प्रज्वलनसमेत गरिने भएको छ । ‘हरेकको नामा साना स्तुपाहरु बन्नेछन । हाम्रो अपेक्षा छ हरेक वर्ष वैशाख १२ गते सिन्धुपाल्चोकबासी यस स्थलमा भेला हुनेछन् अनि आफ्ना आफन्तजनको मुक्तिको कामना गर्नेछन । सुखावती भुवनमा जन्म लिन सकून भनेर हरेक वर्ष कामना गर्नेछन ।’ लामाले थप स्पष्ट पार्नुभयो ।
पार्क निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराउनेदेखि गच्छे अनुसार आर्थिक सहयोग समेत गरेका छन । स्थानीय लाक्पा ठिन्ले शेर्पाले पार्क निर्माणपछि आन्तरिक पर्यटन प्रवद्र्धन र धार्मिक स्थलको पहिचान बनाउने भएकाले आफूहरु हर्षित भएर निर्माण लागेको जानकारी दिनुभयो । ‘भुकम्पका कारण सिन्धुपाल्चोकमा धेरै क्षति भयो । आगामी दिनमा यस्ता दिन कसैले देख्न नपरोस् भन्ने पनि हाम्रो कामना छ ।’ शेर्पाले बताउनुभयो । पार्क निर्माणमा स्थानीय निकै अग्रसर भएर लागेको स्थानीय नोर्साङ लामाले जानकारी दिनुभयो । ‘सकेको सबैले सहयोग गरेका छन । हामी जसले जहाँ जे सक्छौँ सहयोग गरिरहेका छौँ । आखिर मरेर लानु के छ र ? यो पुण्य कर्म भोलिका पुस्तालाई ऐतिहासिक चिनो पनि हो । ’लामाले बताउनुभयो ।
शान्तिमन्त्री अध्यक्ष हुने राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण समितिका सदस्य सचिव राजकुमार केसीले मुलुकमै यस किसिमको पार्क पहिलो पटक बन्न लागेको बताउनुभयो । ‘धादिङमा पनि पार्क बनेको छ । तर भुकम्पमा परी निधन भएकाको स्मृतिमा बन्ने यो पहिलो हो । ’ केसीले बताउनुभयो । पार्क निर्माणका लागि समितिले सम्पूर्ण हिसाबले सहयोग गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया