यस्तो छ सात प्रदेशका मुख्य मन्त्रीको राजनीतिक यात्रा : शिक्षकदेखि चौकीदारसम्म

सातै प्रदेशका मुख्य मन्त्रीको टुङ्गो लागि सकेको छ । सात प्रदेश मध्ये चार मधेशमा एमाले, २ प्रदेशमा माओवादी र एक प्रदेशमा फोरमबाट मुख्य मन्त्री हुने पक्कापकी भएको छ । सबैभन्दा अन्तिममा प्रदेश नम्बर ४ मा मुख्य मन्त्रीको टुङ्गो लागेको हो । प्रदेश नम्बर ४ मा एमालेका किरण गुरूङको नाम मुख्य मन्त्रीको नाममा चर्चामा आएपनि पछि पृथ्वीसुब्बा गुरूङ सर्वसम्मत संसदीय दलका नेतामा चयन भएका हुन् । सातमध्ये चार मुख्यमन्त्रीहरुसँग केन्द्रीय सरकारमा मन्त्री बनेको अनुभव छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट मात्र नयाँ अनुहार हुन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग सांसद र मन्त्री नबने पनि जनप्रतिनिधिका रुपमा काम गरेको अनुभव छ ।

प्रदेश १ : शेरधन राई–एमाले

केन्द्रीय सरकारमा सञ्चारमन्त्री भएका शेरधन राई एमालेका केन्द्रीय सचिव तथा प्रदेश कमिटी संयोजक भीम आचार्यलाई पराजित गर्दै प्रदेशसभामा संसदीय दलको नेता हुँदै मुख्य मन्त्रीको यात्रा तय गरेका हुन् । राई छोटो समयमै राजनीतिक यात्रामा सफल मानिएका व्यक्ति हुन् । भोजपुरको पसल भञ्ज्याङमा २०२७ सालमा जन्मिएका शेरधनले २०४४ मा अनेरास्ववियूबाट राजनीतिक यात्रा थालेका थिए । अखिलको जिल्ला अध्यक्ष र पूर्वाञ्चल संयोजक हुँदै पार्टी राजनीतिमा उनको प्रवेश भएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा कान्छो सांसदका राई निर्वाचित भएका थिए । २०६४ सालमा चुनाव हारेका राई  दोस्रो संविधानसभामा विजयी भए । केपी ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता बनेका उनी हाल एमाले वैकल्पिक पोलिटब्युरो सदस्यको रूपमा रहेका छन् ।

 

 

प्रदेश २ :  लालबाबु राउत– संघीय समाजवादी फोरम


प्रदेश २ मा मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री बन्ने पक्कापक्की छ । संघीय समाजवादी फोरमका संसदीय दलका नेता रहेका उनी २०२३ सालमा पर्साको जगरनाथपुर गाउँपालिका – ४ जगरनाथपुरमा हुन् । राउत किसान परिवारबाट राजनीतिमा उदाएका नेता हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद् बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउतले कानुनमा स्नातक पनि गरेका छन् । पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा उनले १० वर्ष अध्यापन समेत गरेका थिए ।

 

प्रदेश ३ : डोरमणि पौडेल– नेकपा एमाले



चुनावका बेला चारैतिरबाट अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्रीमा हेरिएपनि यसलाई पल्टाउँदै
पार्टी उपाध्यक्ष शाक्यलाई चुनाव हराएर मुख्यमन्त्रीको बागडोर सम्हाल्न लागेका डोरमणि पौडेल एमालेभित्र राम्रा नेता मानिन्छन् । पार्टीमा केन्द्रीय सदस्य नभएका पौडेल जनप्रतिनिधिका रुपमा सफल नेताको परिचय स्थापित गरेका छन् । पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर समेत बनेका थिए । २००२ साल चैतमा काठमाडौंको फर्पिङमा जन्मिएका पौडेल बसाइसराईंसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा बनेका हुन् । ०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लागेका थिए । पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि परे ।

 

प्रदेश ४ : पृथ्वी सुब्बा गुरूङ – नेकपा एमाले

प्रदेश ४ मा एमाले नेता किरण गुरूङको नाम मुख्य मन्त्रीमा चर्चा रहेपनि अन्तिम समयमा आएर पृथ्वी सुब्बा गुरूङ ४ नम्बर प्रदेशका लागि सर्वसम्मत मुख्य मन्त्रीमा चयन हुँदै प्रदेश मुख्य मन्त्रीको यात्रा यत गरेका छन् । मुख्यमन्त्री बन्न लागेका एमाले सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङका हुन् । अमृत साइन्स क्याम्पसबाट बीएस्सी गरेका उनी विद्यार्थी जीवनदेखि नै एमाले निकट थिए । २०२७ सालमा स्ववियू सचिव जितेका उनी जिल्ला सचिव हुँदै पार्टीको केन्द्रीय कमिटीमा आएका थिए । गुरूङ २०५४ सालदेखि एमाले केन्द्रीय कमिटीमा छन् । उनी हाल पार्टीको केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पनि हुन् । २०६४ मा संविधानसभा सदस्यको चुनाव जितेका उनी २०७० मा पराजित भए । यसपटक प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर, वाम तालमेलका क्रममा लमजुङमा देव गुरुङ उम्मेदवार हुने भएपछि उनी प्रदेशसभामा झरेका थिए ।

 

 

 

 

 

प्रदेश ५ :  शंकर पोखरेल – नेकपा एमाले

एमालेभित्र प्रभावशाली मानिएका शंकर पोखरेल प्रदेश ५ को मुख्य मन्त्री हुने पक्का पक्की छ । अनेरास्ववियूका पूर्वअध्यक्ष पोखरेल पार्टीका पूर्वसचिव पनि हुन् । उनी नवौं महाधिवेशनमा उपमहासचिव उठेर पराजित भएका थिए । ओलीनिकट पोखरेललाई अध्ययनशील नेताका रुपमा लिइन्छ । प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजना थिए तर वाम गठबन्धनमा कृष्णबहादुर महराले दाङकम को टिकट लिएपछि पोखरेल प्रदेशमा झरेका हुन् । उनलाई त्यसबेलै मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

प्रदेश ६ : महेन्द्रबहादुर शाही – माओवादी केन्द्र

 


 

पूर्वसभासद् महेन्द्रबहादुर शाही माओवादीबाट प्रदेश ६ को संसदीय दलको नेता चयन भएका छन् । वाम भागबण्डामा प्रदेश–६ को मुख्यमन्त्री माओवादीको भागमा परेपछि शाहीलाई थप सहज भयो ।

२०३३ माघमा कालीकोटको विकट हालको पचालझरना गाउँपालिकाको मध्यमवर्गीय परिवारमा जन्मिएका शाही माओवादी पोलिटब्युरो सदस्य तथा भेरी, कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन् ।

सशस्त्र विद्रोहको क्रममा डिभिजन कमान्डर रहेका शाही अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराउँदा प्रस्तावक बनेर चर्चा कमाएका थिए । शाही एसएसली पास गरेका छन् ।

प्रदेश ७ : त्रिलोचन भट्ट – माओवादी केन्द 

 

माओवादी पोलिटब्यूरो सदस्य त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री बन्ने पक्कापक्की छ । त्रिलोचन भट्ट डोटी प्रदेशसभा ‘क’ बाट विजयी सांसद हुन् । जिल्लाको केआईसिंह गाउँपालिका ६ फलेडीका भट्ट कक्षा ५ मा अध्ययन गर्दैगर्दा १४ वर्षको उमेरमा भारतमा मजदुरी गर्न पुगेका थिए । उनले त्यहाँ लामो समय चौकीदारी गरे । भारतमै छादा माओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएका थिए ।

उनको राजनीतिक यात्रा पनि सोही समाजबाट शुरु भएको हो । र, ०६१ सालमा स्वदेश र्फकेर सक्रिय राजनीतिमा लागेका हुन् । प्रदेशसभामा टिकट पाएपछि चौकीदार बताउँदै विपक्षीले उनलाई मज्जाको पात्र समेत बनाएका थिए । तर उनले चुनाव जित्र्दै मुख्यमन्त्री समेत बन्ने मौका पाए ।

Published On:  851पटक हेरिएको

तपाईको प्रतिक्रिया