यस्तो छ देशको समग्र आर्थिक स्थिति

काठमाडौं– आर्थिक वर्ष २०७४/७५ को पहिलो सात महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको समष्टिगत आर्थिक स्थिति मिश्रित रहने देखिएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार तराई क्षेत्रमा भएको लगातारको वर्षा तथा डुवानका कारण यो वर्षे धानको उत्पादन केही घट्ने देखिएको छ । गैर कृषि तर्फ, उर्जा, निर्माण तथा पुनर्निर्माण क्षेत्रको गतिविधि अघिल्लो वर्षको तुलनामा राम्रो हुने देखिन्छ । केही जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भएकाले औद्योगिक क्षेत्रको क्षमता उपयोगमा वृद्धि भई समग्र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने आधार नेपाल राष्ट्र बैंकको प्रतिवेदन उल्लेख गरिएका छन् । चालु आर्थिक मध्यसम्म सिमेन्ट तथा जलविद्युत उत्पादनका आयोजनाहरुमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ ।

अर्थ विभिन्न सूचाङ्कहरू सकरात्मक नै देखिएकाले यसबर्ष पनि सन्तोषजनक आर्थिक बृद्धि नेपाल राष्ट्र बैकको भनाइ छ । २०७४ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर अघिल्लो वर्षको ३.३प्रतिशतबाट वृद्धि भई ५.० प्रतिशत पुगेको छ । हालका महिनाहरूमा उपभोक्ता मुद्रास्फीति दरमा बढ्ने प्रवृत्ति देखिए तापनि यस वर्षको औसत मुदास्फीति वार्षिक प्रक्षेपणभन्दा न्यून नै रहने राष्ट्र बैंकको अनुमान छ । राष्ट्र बैंकले आर्थिक सूचाङ्क सकरात्मक रहेको आधार प्रस्तुत गरिरहँदा बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेको छ ।  आर्थिक बर्ष ७४/७५ को सात महिनासम्ममा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई रु. ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १२.४ प्रतिशत, चीनतर्फ ७२.३ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको देखिन्छ ।

वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, धागो, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलौची, जि.आई पाईप, उनी गलैचा, तामाका तार लगायतका वस्तुहरूको निर्यात घटेको छ । सात महिनाको अवधिमा कुल वस्तु आयात १८.९ प्रतिशतले बढेर रु. ६६१ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १८.७ प्रतिशत, चीनबाट भएको आयात १९.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, जिङ्क ईनगोट लगायतका वस्तुहरूको आयात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १९.४ प्रतिशतले बढी रु. ६१३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ६६.२ प्रतिशतले बढेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात ७.२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले वृद्धि भई रु. ४०१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आयमा भने ३.० प्रतिशतले कमी आई रु. ४६० अर्ब ८५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ११.८ प्रतिशतले बढेको छ । यसै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.१ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १३.२ प्रतिशत, विकास बैंकहरूको १८.८ प्रतिशत र वित्त कम्पनीहरूको ४.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.७ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया