यसरी फ्लप हुँदैछन् इन्नोभेटिभ प्रोडक्ट

शिव बस्नेत ः  प्रायः महत्वकांक्षा, लहड र आवश्यकताले नयाँ र फरक काम सुरू गरिन्छ । कसैले छोटो समयमै सफलता पाउँछन् । कसैले लामो समयसम्म पनि नतिजा देखाउन सक्दैनन् । प्रविधिको क्षेत्रमा पनि थुप्रै नविन र आश्चर्यजनक प्रडक्ट तयार भए । कुनैले विश्व दौडाइरहेका छन् । कुनै गुमनाम छन् । प्रारम्भमा असफल देखिएका बिजनेश कालान्तरमा सफल पनि भइरहेका छन् । अनि राम्रा, सरल र मन पराइएको बिजेनेश विभिन्न कारणले असफल हुन पुगेका उदाहरणहरू पनि प्रशस्तै छन् । टेक्नोलोजीका हस्ती गुगल, माइक्रोसफ्ट, एप्पल, सामसुग, सोनीलगायत विश्वप्रसिद्ध कम्पनीका सफल प्रडक्ट मात्रै छैनन् । प्रशस्त स्रोतसाधनका बाबजुद उनीहरूका थुप्रै प्रडक्ट फ्लप भए । त्यस्तै कोही आफ्नो स्टार्टअप आइडिया ठूलाठूला कम्पनीलाई बेच्दै रातारात लखपति बनिरहेका छन् र कोही आफ्नो व्यपार फैलाउदै करोडपति बन्ने ध्याउन्नमा छन् । हुन त धेरै पैसा कमाउने प्रडक्टलाई मात्रै सफल मान्न सकिन्न । लक्षित वर्गलाई अकल्पनीय रूपमा सेवा पु¥याउने प्रडक्टहरू पनि थुप्रै छन्, जसका उपभोक्ता धेरै भए पनि आम्दानी थोरै छ ।

नेपालमा पनि सूचना प्रविधिमा आधारित आशलाग्दा थुप्रै प्रडक्टहरू निर्माण भए र भइरहेका छन् । तर, विविध कारणवश सबै प्रडक्ट दीर्घकालसम्म सञ्चालनमा आउन सकेका छैनन् । ‘इन्नोभेटिभ प्रडक्ट विकास गर्नु मात्रै ठूलो कुरा नभई यसलाई सफल बिजनेशमा रूपान्तरण गर्नु चुनौतीपूर्ण बनिरहेको छ,’ एसएमएस भ्यालु एडेड सर्भिसको लिडिगं कम्पनी जानकी टेक्नोलोजीका संस्थापक एवं सिइओ अमित अग्रवाल भन्छन् । उनले आफ्नो कम्पनीमार्फत् केही सफल प्रडक्टहरू ल्याए पनि कम्पनी अझै ‘स्ट्रगल’मै रहेको बताउँछन् । भन्छन्, ‘भिजन, डेडिकेटेड टिम र प्यासन चाहिन्छ । अवश्य सफलता पाइन्छ भन्ने विश्वास छ ।’

अहिले नेपालमा पनि ‘स्टार्टअप लहर’ चलेको छ । आइटी ग्रयाजुएटहरूले फरकशैलीका बिजनेश आइडिया ल्याउँदै छन् । तैपनि उपलब्ध स्रोत साधनबाट फरक र इन्नोभेटिभ प्रडक्ट निर्माण गर्ने टिम थोरै छ । उनीहरूले ल्याउने अधिकांश प्रडक्ट गुमनाम भइरहेका छन् । अर्कोतिर लामो मार्केट रिसर्च गरी ठूलो लगानीका साथ सुरू गरिएका नयाँ प्रडक्ट पनि बजारमा टिक्न सकेका छैनन् । ‘अधिकांश प्रडक्टहरू चुनौतीसँग ट्याकल गर्न नसकेर नै असफल हुने गरेका छन्,’ ई सेवाका सिइओ अस्गरी अलीले भने । उनीसहितको टिमले सन् २००९ मा ल्याएको अनलाइन पेमेन्ट सिस्टम अहिले नेपालमा निकै लोकप्रिय छ । उनका अनुसार युनिक फिचर भएका, आम जनताले उपयोग गर्न सक्ने, समस्या समाधान गर्न सक्ने, किफायती मूल्य, सरल काम गर्न सक्ने, मल्टिफंसनल सुविधा भएका प्रडक्ट सफल हुन्छन् । कहिलेकाही बजारको अवस्था र अन्य बाह्य कारणले प्रडक्टको भविष्य थाहा हुने उनी बताउँछन् ।

हिट कम्पनीका फ्लप उत्पादन
आज हामी ठूला कम्पनीदेखि स्टार्टअपले ल्याएका टेक प्रडक्टहरूको चर्चा गर्दैछौं । एप्स, वेबसाइट, ग्याजेट्स, तथा सर्भिसेसको क्षेत्रमा आएका इन्नोभेसन्सले डिजिटल विश्वको निर्माण गरिरहेको छ । दिनहुँ नयाँ टेक प्रडक्टहरू सार्वजनिक भइरहेका छन् । तर, प्रविधिका हस्ती कम्पनीहरूकै प्रडक्टसमेत बारम्बार असफल हुने गरेका छन् । गुगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, सामसुगं, नेटफ्ल्क्सि, याहु, अमेजनजस्ता कम्पनीहरू साधारणतः सफलताका लागि विश्वप्रसिद्ध छन् । तर यस्ता कम्पनीहरूले पनि अविश्वसनीय रूपमा ‘मुर्ख प्रडक्ट’ ल्याए । गुगलका गुगल मिडिया प्लेयर, गुगल बज, गुगल एन्सर्स, गुगल ग्लास, गुगल नोटबुकजस्ता दर्जनौं प्रडक्ट असफल भए । माइक्रोसफ्टका विन्डोज मोबाइल, ज्युन एमएसएन, विन्डोज मी, विन्डोज भिस्टाजस्ता प्रडक्ट प्रयोगकर्ताले मन पराएनन् । फेसबुकका पनि थुप्रै प्रडक्ट र फिचर फ्लप भए । सामसुग्ले २०१६ मा ल्याएको ग्यालेक्सी नोट ७ मा एक महिनामै ब्याट्री पड्किने समस्या आयो र इतिहासकै धक्का सामसुगंले पायो । त्यस्तै एप्पलको म्याकबुक प्रो, एचपीको ल्याएको टचप्याड, सोनीको ईभिल्ला, अमेजनको फायरफोन पनि अप्रत्याशित फ्लप बन्न पुगे । योसँगै कैयन् ठूला ठूला कम्पनीहरूले आफ्ना प्रडक्टहरूका कारण लज्जा र घाटा बेहोर्नुपरेको छ र हठात् बन्द गर्नपरेको छ ।

टेक उत्पादनमा नेपाल
पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि नयाँ आइडिया र नयाँ आइटम ल्याइरहेका छन् । मुख्यतया दूरसचार र इन्टरनेटका प्रयोगकर्ता बढेकाले सूचना प्रविधिमा आधारित प्रडक्ट र सर्भिसको विकास स्वदेशमै हुन थालेको छ । ‘नेपालको सूचना प्रविधिमा हार्डवेयरमा नभई ज्ञानमा आधारित प्रडक्टहरूको विकास हुने गरेको छ । सफ्टवेयर, वेबसाइट, मोबाइल एप्लिकेशन, ई कमर्स आदिको प्रविधिको प्रयोग गरी विभिन्न क्षेत्रमा आइसिटीमैत्री बनाउन यिनीहरूले सहयोग पुर्याएका छन्,’ क्यान महासंघका महासचिव रञ्जित पोदारले भने । उनका अनुसार हाल ठूला व्यवसायिक कम्पनीले पनि करोडौं रूपियाको लगानीमा यस्ता प्रडक्टको विकास र विस्तार गरेका छन् । ‘वास्तविक इन्नोभेसनले बजारमा नयाँ प्रडक्ट, सर्भिस वा आइडिया भित्र्याउछ । यसले उपभोक्तालाई नयाँ फिचर, स्वरूप, मूल्य र कार्य क्षमतासहितको विकल्प प्रस्तुत गर्दछ,’ उनले भने । तर, नेपालमा विकास भएका यस्ता अधिकांश डिजिटल प्रडक्टहरू व्यवसायिक रूपमा सफल बन्न सकिरहेका छैनन् ।

फ्लप भएका आइटी क्षेत्रका इन्नोभेटिभ प्रडक्टहरूको सूचि निकै लामो छ । विभिन्न क्षेत्रका लागि बनेका सफ्टवेयरहरू, मोबाइल एप्लिकेशन, ईकमर्स लगायतका प्रडक्टहरू नेपाली बजारमा हराएका छन् । धेरै प्रडक्ट छन्, जुन नेपाली बजारमा प्रसंशायोग्य भए । तर, मार्केटले एप्रिसिएट गर्दागर्दै पनि टिक्न सकेनन् । आइटी विद्यार्थीले ल्याउने विभिन्न खाले प्रोजेक्टहरूले पनि वास्तविक रूप नलिइकनै बिलाउन पुगेका छन् ।

किन फ्लप भइरहेका छन् ?

गलत प्रडक्ट निर्माण
प्रायः लामो समयको रिसर्च र टयलपछि नयाँ प्रडक्टको विकास गरिन्छ । तर, त्यसले प्रयोगकर्ताको आवश्यकता र रूची पुरा गर्न सकेन भने प्रडक्ट असफल हुने सम्भावना बढ्छ । नयाँ प्रडक्टले युजरको चाहनामात्रै होइन समस्याको समाधान पनि गर्ने हुनुपर्छ । त्यस्तै उपभोक्तालाई नयाँ फिचर, स्वरूप, मूल्य र कार्य क्षमतासहितको विकल्प प्रस्तुत गर्ने प्रडक्टहरूको अभाव देखिन्छ ।

सानो बजार
इन्टरनेटमा ५० प्रतिशत र मोबाइलमा ११५ प्रतिशत प्रयोगकर्ता भएको तथ्यांक आएपनि डिजिटल प्रडक्ट प्रयोग गर्नेहरूको संख्या निकै थोरै छ । वास्तविक प्रयोगकर्ता कम, अनलाइन पेमेन्टको सहज माध्यमलगायतका कारण प्रडक्ट असफल भइरहेका छन् ।

प्रोफाइल बनाउनै गा¥हो
स्टार्टअप कम्पनीलाई आफ्ना प्रोडक्ट सस्टेन गर्न वा प्रोफाइल बनाउन निकै गारो भइरहेको छ । ‘फ्रि सर्भिसको रूपमा अगाडि नल्याई त्यसले मार्केटले स्विकार्दैन । त्यो बेलासम्म कसरी धानिने भन्ने कुरा रहन्छ,’ एनलोकेटका मनोज घिमिरे भन्छन् । उनका अनुसार एक्सपर्ट टिमलाई पालिरहनुपर्ने बाध्यता अर्कोतिर छ भने प्रोडक्टले नाफा नकमाइकनै ब्राण्डिङ गर्नुपर्ने बाध्यता अर्कोतिर छ । ‘स्टार्टअपका लागि यी सब चुनौतीपूर्ण छ,’ उनले भने ।

कस्टुमर पैसा तिर्न तयार छैनन्
नेपाली बजारमा पनि विस्तारै सेवा प्रयोग गर्ने मानिस बढ्दै छन् । कतिपय अवस्थामा बिजनेश प्रोस्पेटिक्टभ बढे पनि कस्टुमर सो प्रडक्टका लागि पैसा तिर्न तयार भइसकेका छैनन् । ‘अहिले डिपेन्डेन्स हुने समस्या छैन । प्रयोग गर्छन्, तर बेनिफिट लिन सक्दैनन्,’ सोधपुछ डटकमका प्रशान्त पौडेल भन्छन् । ‘यसकारण मनिटाइज गर्न गारो भइरहेको छ । आइटी अवेयर सोसाइटी बनिरहेको अवस्था छैन ।

जनशक्ति पाउनै मुस्किल
नेपालमा वर्षेनी ५ हजारको हारहारीमा कम्प्युटर क्षेत्रका प्राविधिकहरू उत्पादन हुने अनुमान छ । तर आइटी उद्योगले सधैं दक्ष जनशक्तिकै समस्या झेलिरहेको छ । ‘आइडिया जतिसुकै उत्कृष्ट किन नहुन्, त्यसलाई सफल पार्न प्रावधिक दक्षता चाहिन्छ । तर, खोजेजस्तो दक्ष जनशक्ति पाउन सकिरहेका छैनौं,’ सूचना तथा सञ्चार प्रविधि समाजका महासचिव सुवास खड्काले भने ।

कमजोर टिम
आइडिया जत्तिसुकै बलियो भए पनि त्यसलाई फ्लोरमा ल्याउन बलियो टिम भएन भने प्रडक्टमा रूपान्तरण गर्न सकिन्न । ‘नेपालमा टिममा बसेर काम गर्ने कल्चर एकदमै कम देखिरहेको छु,’ जानकी टेक्नोलोजिजका सिइओ अग्रवाल भन्छन्, ‘केही समय सँगै काम गर्ने अनि छुट्टिएर अकै बिजनेश गर्ने प्रवृत्ति देखियो । हामी फ्र्याग्मेन्टेड भएर काम गर्छौं ।’

लगानीकर्ताले पत्याउदैनन्
अधिकांश स्टार्टअप फाइनान्यिसल क्राइसिसकै कारण फ्लोरमा आउन सकिरहेका छ्रैनन् । आइटी स्टार्टअपका सन्दर्भमा नेपालमा लगानी गर्ने संस्कृति अझै आएको छैन । ‘लगानीकर्ताले रातारात प्रतिफल खोज्छन्, जुन आइटी स्टार्टअपबाट सम्भव हुन्न,’ सोधपुछका अर्का सहसंस्थापक आइपी बास्तोला भन्छन्, ‘आइटीमा लामो समयपछि मात्रै रिटर्न आउँछ । आइटी कन्जम्पसन बढ्न थालेपछि मात्रै नाफा हुन्छ । यसका लागि सर्भिस निरन्तरता दिनु, एक्स्पर्ट, टाइम आदिको लगानी आवश्यक छ’, उनले भने ।

राज्यको बेवास्ता
सरकारले ल्याएका युवा स्वरोजगार कोष, स्टार्टअप फन्डजस्ता कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सकेनन् । ‘स्टार्टअपमा राजनीतिक हेपाहा प्रृवत्ति जारी छ । जति कार्यक्रम आउँछन् आफ्ना कार्यकर्ता पोस्ने खालका आउँछन् । जसलाई स्टार्टअप फन्ड चाहिएको हो उसले पाएको छैन,’ युवा उद्यमी एवं सुस्मित ग्रुपका प्रबन्ध निर्देशक सुशील पोखरेलले भने । उद्योग मन्त्रालयले हालै स्टार्टअप इकोसिस्टम कार्यक्रम ल्याउने तयारी गरेको छ । उक्त कार्यक्रमका लागि सरकारले १ अर्ब रूपैयाँ बिनियोजनसमेत गरिसकेको छ । कार्यक्रम लागु गर्ने चरणमा रहेको बताइएपनि यसमा सूचना प्रविधिमा आधारित स्टार्टअपलाई बेवास्ता गरिएको उनको गुनासो छ ।

आगामी बाटो
आफ्नो आइडियामा काम गर्न र यसबाट अरूलाई सन्तुष्टि पार्नु निकै गार्हो काम हो । आज इन्नोभेटिभ कामका लागि नेपाली प्रतिभा निखारिदै गएको बताइए पनि अधिकांश फ्लप हुने डरले बिजनेशमै हात हाल्दैनन् भने कतिपय चुनौतीसँग जुध्न नसकी अन्यत्रै पलायन भइरहेका छन् । ‘नेपालमा स्टार्टअप र इन्नोभेटिभ प्रडक्टका लागि ‘फाइनान्सियल रिस्क’ बढी भएकैले धेरैले बिजनेश सुरू गर्दैनन्,’ फ्लिप कर्मा (मेरोएन्सर)का सहसंस्थापक सिजन भण्डारी भन्छन् । उनका अनुसार स्टार्टअप आइडियाबाट व्यवसाय गर्न चाहनेका लागि अझै नेपालमा लगानीकर्ताको सवाल खुकुलो हुन सकेको छैन । लगानीकर्ता र इन्क्युबेटर्सको अभावमा स्टार्टअपलाई स्टार्ट गर्न अब गार्हो भइरहेको छ । यही कारण आफ्नो प्रडक्ट र आइडिया लक्षित उपभोत्तःासम्म पुर्याउन गारो भएको धारणा उनको छ । त्यस्तै टिबिआई ग्रुपका प्रबन्ध निर्देशक शिशिर भट्ट इन्नोभेटिभ आइडिया र बिजनेशको सन्दर्भमा उत्साही भइहाल्ने अवस्था आइनसकेको धारणा राख्छन् । ‘नेपाल स्टार्टअपका लागि उर्जाशील भूमि हुन सक्छ । तर, यसका लागि धेरै काम हुन जरूरी छ,’ उनले भने । मुख्य कुरा धैर्य र आशावादी हुन सकिएन भने आइडिया जत्तिकै ‘युनिक’ भए पनि त्यसले अर्थ नराख्ने उनको भनाइ छ । भट्टले इन्नोभेटिभ आइडियालाई इनक्युबेट गर्ने र इन्भेस्ट गर्ने प्रक्रिया सहज बन्नुपर्ने बताउँछन् । नेपालमा ई गभर्नेन्स, ई बैंकिगं, ई पेमेन्ट लगायतको क्षेत्रमा नीति निर्माण एवं कार्यक्रम संञ्चालन भइरहेको सन्दर्भमा त्यसलाई सहजीकरण गर्न सूचना प्रविधिमा आधारित नविन सोच र स्टार्टअपलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ ।
लेखक बस्नेत आइटी पत्रकारितामा क्रियाशील रहदै आउनुभएको छ ।

Published On:  966पटक हेरिएको

तपाईको प्रतिक्रिया