न्याय खोज्दै हिडेका असुरक्षित पाइला

-अनिता गौतम :
नारी शब्द आफैमा पवित्र र सुन्दर छ । हिजोआज तीन अक्षरले बनेको महिला शब्दभन्दा नारी शब्द बढी प्रयोग गरिन्छ । पुरुषहरू पनि महिला भन्दा नारी शब्द नै प्रयोग गर्न रुचाउँछन् । नारीका हर सफलता र सुखदुःखमा पुरुषको महत्वपूर्ण हात रहन्छ । त्यसैले त भनिएको होला– ‘महिला–पुरुष एकै रथका दुई पांग्रा ।’
नारी शब्दमा कोमल, करुणा, सहनशील, स्पर्श, मायालु–दयालुजस्ता शब्दभाव लुकेको पाइन्छ । सरसर्ती हेर्दा हाम्रो समाजमा यसरी नै हो नारीलाई बुझ्ने ।
नेपाली समाजमा नारी वा महिला शब्दको उच्चारण गर्ने बित्तिकै धेरैले हल्का रुपमै लिने गर्छन् । तर, यसकोे भाव महिलालाई नै थाहा छैन । धेरैले नारी शब्दलाई राम्ररी वुझेका छैनन् । त्यसैले त नारी अधिकारका सवालहरु उठिरहेकका छन् । महिलाहरु चरम शोषण र दमनका चोटहरु सहिरहेका छन् ।
नारी मात्रै होइन, ‘अधिकार’ प्रत्येक व्यक्ति समुदायसँग जोडिएको अत्यावश्यक नियम हो । संसारमा सबैभन्दा अग्रपंक्तिमा मानिएको ‘अधिकार’ हो मानव अधिकार । जहाँ सबैभन्दा पहिले मानव अधिकार कुरा उठ्छ अनिमात्रै महिला अधिकार, दलित र अन्य अधिकार ।

यो नियम बाच्नेजति सबैले सहजै उपभोग गर्न पाउनुपर्छ । नत्र उ बाच्नै सक्दैन र बाचेपनि शुखी रहन सक्दैन ।
जेनतेन मानव अधिकार प्राप्त गर्न सकिने हाम्रो मुलुकमा महिला अधिकारको के कुरा गर्नु ? पछिल्लो समय महिला अधिकार र हिंसाका विषय सतहीमा पुगे । अन्र्र्तराष्ट्रिय महिला दिवस मनाइरहँदा विभिन्न चर्चा चुलिए ।
हाम्रो समाजमा भइरहेका महिला हिंसा र बलात्कारका घट्नाहरुले महिला अधिकार खोसिएको महसुस भइरहेकोे छ ।  अधिकारकर्मीहरु सहरका पाँचतारेमा महिला अधिकार, महिला अधिकार भन्दै माइकिङ गरिरहेका छन् । उता गाउँका महिलाहरुले दिनैपिच्छै पुरुषत्वको स्वाद चाखिरहेका छन् ।
राज्यले सेतो किताबमा उतारेका महिला अधिकार किताबमै सीमित छन् । नारीको अधिकार माग्ने वहानमा खोलिएका सरकारी तथा गैर–सरकारी संस्थाहरु सहरमा केन्द्रित छन् । उनीहरु सहरका शिक्षित महिलाहरुलाई महिला हिंसाको पाठ घोटाइरहेका छन् ।  महिला हिंसाको अन्त्य गरी अधिकारको प्रत्याभूत गराउन खोलिएको संस्था चिम्लेर बसेपछि समाजमा महिला हिंसाले सिमा नाघेको छ ।
महिला र पुरुषबीच लिङ्गका आधारमा कुनै भेदवाभ हुन्छ भने त्यो लैंगिक हिंसा हो । अहिले पनि हाम्रो समाजमा महिलाहरु आफ्नै घर समाज र आफन्तबाट पीडित भएका घट्नाहरु बाहिर आइरहेका छन् । समाजमा अझै छोरा वा छोरीमा भेदभाव हुन्छ । नारी स्वतन्त्रता र आत्मसम्मानका सवालहरु उठिरहन्छन् । अरु त परैको कुरा महिलामा हुने प्राकृतिक रक्तश्राव माथि पनि यो समाजले कृदृष्टि राखेको छ । यदी कुनै पुरुषले रगत बगाएको भए बहादुरी उपमा दिने समाजले महिलाले रगत बगाउँदा अभिशाप ठान्ने किन ? योत झन् गौरवको कुरा थियो ।
पछिल्लो समय देशमा महिलामाथि भइरहेको विद्यमान हिंसालाई नियाल्दा महिलाको अवस्था कति दयनीय र कहाली लाग्छो छ भन्ने कुरा तपाई हामीले हरेक दिन सुन्दै, पढ्दै र हेर्दै आएका छौं । पछिल्लापटक महिलामाथि भएका यस्ता हिंसाका उदाहरणहरु प्रसस्तै छन् । बितेको ५ बर्षयताको तथ्यांक हेर्ने हो भने फागुन मसान्तसम्म पाँच हजार तीन सय १९ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । यहीमध्ये केही घटनालाई केलाउँदा गत माघ ८ का दिन खोटाङमा ८ बर्षीय बालिकाको बलात्कारपछि हत्या भयो  । चैत्र २ गते झापामा चालक र सहचालकबाट किशोरी बलात्कृत भइन् । फाल्गुन २८ गते कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा अर्की किशोरीमाथि हदैसम्मको कुटपिट भयो । चैत्र २३ गते नवरपरासीमा आफ्नै बाबुबाट ८ महिनाकी छोरी बलात्कृत भइन् । के हामीले यस्ता हिंसाका पराकाष्ठाहरु झेलिरहने हो ? किशोरीमाथि भएका यी अपराधिक घट्नालाई हेर्दा हामीले समाज कता जाँदैछ भनेर बुझ्ने ? एउटी छोरीमान्छे आफ्नै घरभित्र त सुरक्षित छैन भने उ कस्को विश्वासले बाच्ने ?
कतिपय जनप्रतिनिधिहरू महिला बेचबिखन र बेश्यावृतिमा लडेको समाचार बेला–बेला चर्चामा आएको छ ।
खासगरी प्राकृतिक प्रकोपबाट पीडित भएका समुदायका अधिकांश छोरी चेलीहरु बेखविखन र तस्करहरुको हातमा पर्ने गरेको पाइएको छ । दलालहरु खासगरी पीडाले गुज्रिएको समुदायमा सल्बलाएका छन् । उनीहरु जहाँ अशिक्षित र नबुझ्ने गरीब समुदाय छन् त्यही गएर ललाई फकाई गरी फसाउने गरेको तथ्य हामीले भेटाइरहेका हुन्छौं । अझै पनि हाम्रो समाज ती हिसं्रक दलालहरु विभिन्न आर्थिक प्रलोभनको नाममा यत्रतत्र छामिएका छन् । के महिला भएकै कारण बलात्कृत हुनुपर्ने हो ? होइन भने किन राज्य यति मौन छ ? होइन भने दिनानुदिन कतै बालिका त कतै किशोरी बलात्कृत भइरहँदा किन निरन्तर चासो दिँदैन ? के बलात्कृत भएको खबर एकदिनमात्रै चर्चा गरेर सेलाउन मिल्छ ? पछिल्लो समय यस्तै तर्कना मनमा खेल्छन् ।
गाउँका महिलाहरुको त कुरै नगरौं । तिनको स्थिति कति दयनीय छ भन्ने कुरो गाउँ देखेकाहरुले मात्र महसुस गर्न सक्छन् । बिहान चार पाँच बजे उठेर गाई गोठ गर्नेदेखि दिनभरि घाँसपात र खेतवारी हेर्ने र साँझ बिहान भान्छाको बस्दोबस्त गर्ने सबै जिम्मा महिलाहरुकै हुन्छ । पुरुषहरुले दिनमा आठ दश घण्टा काम गरेका हुन्छन् । त्यसका साथमा जाँड खाएको श्रीमानको कुटाई सहनेदेखि लिएर थाकेर चुर भएको शरिर श्रीमानले चाहेको बेला उसको यौन तृप्तिका लागि सुम्पिदिनु पनि ती महिलाहरुको दायित्व र कर्तव्यभित्रै पर्दछ । अनि नेपालको परिप्रेक्ष्यमा शिक्षित र सम्पन्न भनिएका काठमाडौं र अन्य कतिपय ठाउँहरुको स्थिति पनि गाउँको भन्दा अलिकति मात्र भिन्न छ ।
महिलामाथि भएका घट्ना सुन्दा महिला कतिसम्म सुरक्षित छन् भन्ने लाग्छ र स्पष्ट हुन्छ पनि । जहाँ आफ्नो जननी (आमा) र पृथ्वी जस्ता पिताले आफ्नो भोक, तिर्खा र सुखदुःख गरी मेटाएर बालिका हुर्काएका हुन्छन् । तीनै कोमल कलिला फूलहरुलाई हिंस्रकहरुले गिद्दे नजर लाइरहने हो ? होइन भने सरकारले किन नयाँ कानुन ल्याउन सक्दैन । केही बर्ष अघि भारतमा सार्वजनिक सवारीमा ८ जना युवाले एक किशोरीमाथि बलात्कार गर्दा ती युवाले मृत्युदण्ड मात्रै पाएनन् भारतमा नयाँ कानुन पनि निर्माण भयो । हाम्रोमा हरेकदिनजसो यस्ता घटना भइरहँदा किन बन्दैन बलात्कारीलाई फासी दिने कानुन ? यो निकै सोचनीय विषय बनेको छ अहिले ।
एउटा पुरुष रगत नारीकै, जन्म नारीकै, दुध नारीकै खान्छौ, नारीकै काखमा खेल्छौ, हुर्कन्छौं र अन्त्यमा त्यही नारीको बलात्कार गरी हत्या गर्छ । के यसो भइरहँदा राज्य कहिलेसम्म चुप लागेर बस्ने ? ती कात्तर पुरुषहरु नौ महिना त के केबल ९ घण्टा पनि एक किलो ढुंगा आफ्नो पेटमा बाधेर निहुराउनुपर्ने थाहा पाउने थिए होला नारीको मर्म ।
देशमा आधा हिस्सा ओगटेको महिलाको समस्यालाई समाधान गर्न र पीडितलाई न्याय दिन खोलिएका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु आखिर कहाँ चुकेका छन् ? केके दलदलमा फसेका छन् ? यो खोजीको विषय होला । यसरी नै दिनानुदिन महिला हिंसा र बलात्कारका घटना बढ्दै जाने हो भने कसरी होला सम्मुनत समाजको निर्माण ?
देशमा भइरहेको बर्तमान घटनालाई नियाल्दा राजनीतिको आडमा रहेर दुई नम्बरी धन्दा गर्ने मौलाएका छन् । ती दलालहरु राजनीतिकर्मीहरुबाटै संरक्षित भएका छन् । नातावाद, कृपावाद, संरक्षण साथै मिलोमतोको हिंसा गर्न खोज्ने समाजलाई हार्दिक तिलाञ्जली बाहेक केही भन्न सकिन्न । पार्टीका झोले भरौटेहरुलाई पाखा लगाउने हो भनेमात्रै समाजमा सबैले समान अधिकार पाउन सक्छन् ।
देशमा रहेको विद्यमान गरिबी, भोकमरी, शिक्षा, स्वास्थ्य खानपान, बेरोजगारीले हामीलाई गाँजेको छ । यो समस्याले अस्तव्यस्त बनेको हाम्रो देश नेपाल कहिलेसम्म विरामीको स्परुप लिइरहने ? बर्सेनी लाखौं नेपाली चेली रोजगारीको शिलशीलामा खाडि तथा अन्य देशमा पुग्छन् । कतिपय रहरले त कतिपय परिस्थिति र अभावले । अर्काको देशमा गएका धेरै महिलाहरु झ्न हिंसा सिकार भई घर न घाटको भएर फर्किएका छन् । खैत त त्यहाँ महिला संरक्षण र पुनस्थापनातर्फ राज्यको ध्यान जान सकेको ? विदेशमा राम्रो तलब र जागिर लगाइदिन्छु भनेर झुटो आशा र सपना देखाएर महिलाहरुलाई फसाउने  विभिन्न दलाल एजेन्ट तस्कर र मेनपावरहरुलाई खैत त कानुनी कठघरामा ल्याएको ? आखिर किन र केको लागि महिला नै हिंसाको सिकार बन्नुपर्ने ?  घरेलु तथा यौनिक हिंसाविरुद्ध कानुनी अवस्था उल्लेख गरेतापनि किन महिला सुरक्षित हुन सकेका छैनन ? नेपालमा कानुन बनाउनेले नै कानुन कुल्चिएका छन् । यदी महिलाहरुलाई आफ्नो देशभित्र कुनै उत्पादनमूलक कार्यमा लाउन सकेको भए केही हदसम्म भएपनि बेरोजगारी र महिला हिंसा कम हुन्थ्यो होला ? महिलाहरुले पनि यो देश र समाजको लागि कुनै खाका कोर्न सक्थे होला । बिडम्बना ! यो देशको कथा व्यथा बेग्लै छ । यहाँ नीति बनाइन्छ त्यसको पालना गरिन्न ।

आफ्नो देश अरुले होइन, आफैले बनाउनुपर्छ । म मेरा होइन हामी र हाम्रो भन्ने भावना जागृत हुनुपर्छ । अनिमात्र नेपाल बन्न सक्छ । पछिल्लो समय बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्न भन्दै विभिन्न एनजिओ र आइएनजिओहरु आएका छन् । दातृ निकाय, राजनीति एउटा आफ्नो स्तरोन्नती गर्ने पेसा बनेको छ एकचोटी यसतर्फ सबैको ध्यान होस् । यस्तो समाजलाई तपाईहरु कस्तो समाजको रुपमा लिनुहुन्छ ?
राजनीति भनेको त समाजलाई  परिवर्तन गर्ने र राज्यलाई अघि बढाउने तन्तु हो । हाम्रोमा त राजनीति भन्ने वित्तिकै फोहरी खेल हो भन्ने धेरैले बुझिसकेका छन् ।
हाम्रो देशको राजनीतिक क्षेत्रलाई नै नियाल्ने हो भनेपनि त्यहाँ महिला हिंसा भएको देखिन्छ । महिला ठूला काम आट्न सक्दैनन् भन्ने, जिम्मेवारी दिएपनि पुरुषको भन्दा थोरै जिम्मेवारी दिने, पार्टीगत हिसाबमा पनि महिला नेतृहरुलाई पुरुषसरह जिम्मेवारी नदिने जस्ता कारणले महिला पछि परेको मान्न सकिन्छ ।
नेपालमा उत्कृष्ट काम गर्नेलाई भन्दा नगर्नेलाई पार्टीले राम्रो सर्पोट गरेको पाइन्छ । राजनीतिमा नमुछिएको कुनै व्यक्तिले गरेको कामलाई नेताहरुले मन पराउँदैनन् । उनीहरु आफूले पनि राम्रो काम गर्दैनन । यसका ज्वलन्त उदाहरण हरु धेरै छन् । सायद यहाँ भनिरहनु नर्पला ।
नेपालको संविधानमा बालबालिका तथा महिला हक र अधिकार कानुनी किताबमा मात्रै सिमित छ । गरिब, दुखि एकल र असहाय महिलाले कुनै किसिमको सहजै अधिकार पाएका छैनन । महिलाको समस्यालाई मध्यनजर गर्दै हालै संसदबाट केही निर्णयहरु गरिएका छन्  । त्यसै अनुसार संसदबाट महिला अधिकार विधेयक पारित पनि भयो । तर पनि नेपाली समाजको परम्परा र प्रवृतिलाई हेर्दा जबसम्म अधिकांश नेपाली पुरुषहरुमा महिलाहरु पनि उनीहरु समानकै प्राणी हुन् भन्ने चेतना विकसित हुँदैन तवसम्म महिलाहरुको विद्यमान स्थितिमा त्यति सहजै परिवर्तन आउने आशा राख्न सकिंदैन । महिलाहरुप्रति नेपाली पुरुषहरुले जसरी व्यवहार गर्छन् । त्यसबाट उनीहरुलाई वास्तवमा लाज लाग्नुपर्ने हो ।
राज्यस्तरबाट अहिलेसम्म अन्याय र भूलहरु भएका छन् । तीनलाई परिमार्जन र फेरबदल गरी पीडितलाई न्याय दिलाउनुपर्छ ।
अन्य विदेशी मूलुकको जस्तै नेपालमा पनि बलात्कार तथा मानव बेचविखन गर्ने गिरोहिलाई जन्मकैद होइन फासीको सजाय दिइन्छ । तब मात्रै कसैले पनि यस्तो गलत मनसाय राखेर गलत काम गर्दैनन् । त्यसपछि मात्रै यस्ताखाले घटनाहरु ओरालो लाग्छन् ।

महिलामाथि गिद्धे नजरले हेर्ने, उनीहरुको आत्मसम्मानमा ठेस पु¥याउने, पशु सरहको व्यवहार गर्ने र बेचविखन गरी उनीहरुलाई देशबाट बाहेक गर्नलाई हौंस्याउन जस्ता प्रवृृती भएकाहरुलाई आजै बाट यो समजबाट निकालिनुपर्छ । अनि पीडितलाई न्याय दिनुपर्छ । महिलाहरु पनि पुरुष जस्तै स्वतन्त्र जीवन बिताउन पाउनुपर्छ । उनीहरुका रहेक पाइलाहरु पुरुषका जस्तै सुरक्षित पारिनुपर्छ । उनीहरले पाउने अधिकार र समानतामा बराबर भाग लगाउनुपर्छ । अनिमात्रै महिला हिंसाका कथा व्यथाले समाजलाई ग्रसित बनाउँदैन र महिलाहरु पनि शीर ठाडो पारेर बस्न सक्छन् ।

तपाईको प्रतिक्रिया