मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

केके मानन्धर : काठमाडौं । दश बुँदे काठमाडौं घोषणा पत्र सार्वजनिक गर्दै मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भयो । नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संयोजनमा काठमाडौंको नेपाल पर्यटन बोर्डमा कार्यक्रम आयोजना भएको हो । सम्मेलनले जारी गरेको घोषणा पत्रमा नेपाली सञ्चार माध्यमलाई समावेशी बनाएर मातृभाषामा गरिने पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
सम्मेलन पश्चात् सार्वजनिक गरिएकाे घोषणा पत्रमा मातृभाषा पत्रकारितालाई संरक्षण, सम्बद्र्धन गर्दै विकास गर्न राज्यस्तरबाटै नीतिगत छलफलको विषय बनाउनुपर्ने उल्लेख छ । भावनाको आधारले गरिने मातृभाषा पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन र समुदायलाई आ–आफ्नै भाषामा सूचना दिँदा तुलनात्मक प्रभावकारी हुने पनि उल्लेख छ ।
नेपालमै पहिलोपटक आयोजित कार्यक्रममा १० वटा कार्यपत्र पेश गरिएका छन् । आठ वटा फरक भाषामा गरिँदै आएका पत्रकारिता सम्बन्धिको इतिहास, वर्तमान अवस्था, चुनौती तथा समाधानको उपाय समेटिएको विवरणसहितको कार्यपत्र पेश भएको हो ।

घोषणा पत्र तपसिल बमोजिम छ ।

नेपालमै पहिलोपटक २६ वटा आदिवासी जनजाति पत्रकारहरूको सहभागितामा ‘सङ्घीय संरचनामा सञ्चार – मातृभाषा पत्रकारिताको आधार’ मूल नाराका साथ नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घसँग संयोजन गरी नेसं ११३८ अनलाथ्व पारु ९सन् २०१८ मे १६० का दिन नेपाल पर्यटन बोर्ड, काठमाडौँमा आयोजना गरेको मातृभाषा ९राष्ट्रभाषा० पत्रकारिता सम्मेलनका हामी सहभागीहरू,
नेपालमा विगत ९३ वर्षदेखि निरन्तरता पाइरहेको मातृभाषा पत्रकारिताको लहर आगामी दिनमा थप सशक्त बनाउँदै लानुपर्ने आवश्यकता अनुभव गर्दै,
करिब एक शताब्दी लामो मातृभाषा पत्रकारिता राज्यको आँखामा सकारात्मक संरक्षकत्व, प्रोत्साहन, प्राथमिकताको विषयवस्तु हुन नसकेका कारण परिपक्व, सुविधायुक्त, उर्वर र विकसित हुन नसकेको तथ्यलाई आत्मसात् गर्दै,
बहुजातीय, बहुभाषिक र बहुधार्मिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने र त्यसको महत्वपूर्ण आधारका रूपमा आदिवासी जनजाति समुदायबीच अभ्यासमा रहेको मातृभाषा पत्रकारितालाई थप सशक्त, उपलब्धिमूलक, व्यावसायिक र सिर्जनशील बनाउन बहुभाषिक पत्रकारिताका लागि समावेशी सञ्चार नीतिको अविलम्ब कार्यान्वयन गर्दै निम्नलिखित कदमहरू चाल्नुपर्ने निष्कर्षमा पुगेका छौँ ः
– नेपाली सञ्चार जगत्मा आदिवासी जनजाति पत्रकारिताको न्यून उपस्थितिलाई नीति निर्माण तहले समस्याको रूपमा आत्मसात् गर्नुपर्ने र यसको समाधानका लागि बहुआयामिक सकारात्मक पहल अगाडि बढाउनुपर्ने,
– हाल गोरखापत्र दैनिकले अभ्यास गर्दै आएको बहुभाषिक पत्रकारितालाई समावेशी पत्रकारिताको एउटा नमूनाका रूपमा लिएर प्रत्येक प्रदेशको जनसङ्ख्या, भाषा, सांस्कृतिक बाहुल्यताका आधारमा मातृभाषी सञ्चारकर्मीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुका साथै सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता गर्दै आएका जनशक्तिको पेशागत सुनिश्चितता कायम गर्नुपर्ने,
– नीति निर्माण तहमा आदिवासी जनजाति पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने,
– नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने,
– गैरमातृभाषी सञ्चार क्षेत्रमा संलग्न आदिवासी जनजाति सञ्चारकर्मीहरूलाई यस क्षेत्रमा परिचालन हुन प्रोत्साहित र आकर्षित गरिनुपर्ने,
– जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने,
– पत्रकारितालाई समानता र सामाजिक न्याय, पहिचानका लागि आदिवासी जनजातिले गर्दै आएको आन्दोलनको अभिन्न अङ्गका रूपमा आत्मसात् गरिनुपर्ने,
– आदिवासी जनजाति सञ्चार पहलका लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने,
– राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने,
– राज्यले राष्ट्रिय स्तरमा प्रत्येक वर्ष मातृभाषा पत्रकारिता दिवस आयोजना गर्नुपर्ने ।
मातृभाषा पत्रकारिताको विकासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास गराउने र नेपाली पत्रकारिताको परिभाषालाई व्यापकता प्रदान गर्ने भएकोले आमसञ्चारमा सबैको पहुँच सुनिश्चित गर्न उल्लेखित बुँदाहरू कार्यान्वयनमा ल्याउन सम्बद्ध निकायलाई आह्वान गर्दछौँ ।
श्रीकृष्ण महर्जन
अध्यक्ष
नेवाः पत्रकार राष्ट्रिय दबू

मातृभाषा पत्रकारिता सम्मेलनमा सहभागि २६ भाषाका आदिवासी जनजाति समुदायया पत्रकारहरुको विवरण ः

१) नेपालभाषा, २) मगर, ३) राई, ४) तामाङ, ५) लिम्बु, ६) थारु, ७) गुरुड, ८) शेर्पा, ९) बराम, १०) उराँब, ११) धिमाल, १२) माझी, १३) ताजपुरिया, १४) किसान, १५) दुनवार, १६) जिरेल, १७) सुनवार, १८) थामी, १९) ल्होमी, २०) कुमाल, २१) दराई, २२) चेपाङ, २३) बान्तवा राई, २४) मुगाल, २५) मेचे २६) राजवंशी

घोषणा पत्र जारी गर्नु अघि पेश गरिएका कार्यपत्र तथा संस्थागत प्रतिनिधित्वकाे विवरण :
१) किरात राई पत्रकार संघ
२) तामाङ सञ्चार संघ
३) तमु (गुरूङ) सञ्चारकर्मी संघ नेपाल
४) मगर पत्रकार संघ
५) लिम्बू पत्रकार संघ
६) थारू पत्रकार संघ
७) शेर्पा सञ्चार समूह

Published On:  101पटक हेरिएको

तपाईको प्रतिक्रिया