अमेरिकी डलर बढ्दा नेपाली रूपैयाँ इतिहासकै कमजोर

काठमाडौं– अमेरिकी डलरको मूल्य नेपाल राष्ट्र बैंकले १ सय १३ रुपैयाँ तोकेपछि यो दर इतिहासकै उच्च भएको छ भने नेपाली रूपैयाँ स्वभाविक रूपले इतिहासकै कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहँदा डलरको तुलनामा भारू खस्केपछि नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको हो ।

विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात–निर्यातको स्थिति लगायतका कारण डलरको भाउमा हुने उतार चढावले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने गर्दछ । अमेरिकी डलर बलियो बन्दै जाने र नेपाली मुद्रा कमजोर बन्दै जादा नेपालीहरू महंगीको मारमा पर्ने अर्थविद्को ठम्याइ छ । नेपालसँग निर्यात गर्न सक्ने क्षमता नभएको र आयातममै भर पर्नु पर्ने हुँदा अमेरिकी

डलरको भाउ बढ्दा महँगी बढ्ने अर्थविद् बताउँछन् । हुनपनि नेपाल विभिन्न देशसँग चरम व्यापार घाटाको स्थितिमा रहेको छ । अमेरिकी डलरको भाउ बढ्दा दैनिक उपभोग्य बस्तुको भाउ देखि विभिन्न यन्त्र उपकरणको खरिद विक्री मुल्य बढ्ने गर्दछ ।
नेपालमा निर्यातजन्य वस्तु उत्पादन नहुने हुनाले अमेरिकी डलर बढ्दा अर्थतन्त्रलाई फाइदा नहुने अवस्था रहेको छ । डलरको भाउ बढ्दा रेमिटान्समा भने सकरात्मक प्रभाव पर्ने गर्दछ । वैदेशिक रोजगारीमा गएका युवाहरुले डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्ने भएकाले डलर भाउ बढ्दा सकरात्मक प्रभाव पर्ने तर्क अर्थविद्हरूको छ ।

तपाईको प्रतिक्रिया