बारा–फागुन २८ । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि रूपन्देही एघार र विजय युथ क्लब हेटौंडाबीच प्रतिस्पर्धा हुने भएको छ । बाराको सिमरामा हिजो भएको दोस्रो सेमिफाइनमा वीरगञ्ज युनाइटेड क्लबलाई एक–शून्य गोलअन्तरले पराजित गर्दै रूपन्देही एघार फाइनलमा पुगेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन् । रूपन्देही एघारले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । खेलको अन्तिम अतिरिक्त समयमा योगेश गुरुङले गोल गर्दै रूपन्देहीलाई जित दिलाएका हुन् । रूपन्देही एघारलाई फाइनल पुर्याएका योगेश गुरुङ म्यान अफ दि म्याच घोषित भए । यसअघि नै भएको पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै विजय युथ क्लब फाइनल पुगि सकेको छ । फाइनल खेल शनिवार हुनेछ । ए डिभिजनका ५ क्लबसहित १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले ५ लाख ५१ हजार नगदसहित ट्रफि र मेडल प्राप्त गर्ने छ ।