वाणिज्य विभाग प्रभावकारी अनुगमन खै ?

काठमाडौं–चैत १६ । दैनिक उपभोग्य सामानमा मनलाग्दी मूल्य राखेर उपभोक्ता ठग्नेदेखि गुणस्तरमा ठग्ने व्यापारी पनि बजारमा छ्याप्छ्याप्ती छन् । अनुगमन भए पनि बद्मासी गर्नेलाई कारवाही हुन नसक्दा कालोबजारी मौलाएको छ । पैसाको क्रयक्षमता हरेक वर्ष कमजोर बन्दै गएको छ । सामान्यतया माग र आपूर्तिको सन्तुलन मिलेन भने मुद्रास्फिती बढ्दछ । हुन त मुद्रास्फिती बढ्नुको धेरै कारण मध्ये व्यापारीले गर्ने कालोबजारी पनि एक हो । अर्कोतर्फ बजारमा अप्रत्यासित रुपमा आर्थिक कारोबार बढ्दा पनि महँगी बढ्ने विज्ञहरुको भनाई छ । २०५० सालभन्दा अघि वार्षिक मुल्यवृद्धि जम्मा ३ दशमलव ५ प्रतिशत थियो । तर अहिले त्यो महँगी बढेर ९ प्रतिशतभन्दा माथि पुगेको छ । त्यसो त राष्ट्र बैकले पनि मुल्य वृद्धिलाई नै मुख्य चुनौतीका रुपमा लिएको छ । तर पनि महंगीको जित र उपभोक्ताको हार भईरहेको छ । महंगीले दैनिक उपभोग गर्ने हरेक सामानको मुल्य दिनप्रतिदिन आकासिएको छ । मुल्यवृद्धि नियन्त्रण गर्ने काम सरकारको भएपनि सरकारी उदाशिनताका कारण महँगी आकासिएको उपभोक्ताको गुनासो छ । दोस्रोपटक भएको संविधानसभाको चुनावमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब ४२ अर्बभन्दा बढि रकम खर्च भएको तथ्याङ्कले देखाउँछ । यसरी बजारमा आर्थिक गतिबिधि एक्कासी बढ्दा मुद्रा स्फितीको खतरा हुन सक्ने विज्ञहरु बताउँछन् । दैनिक उपभोग्य सामानमा मनलाग्दी मुल्य राखेर उपभोक्ता ठग्ने व्यापारीहरु पनि बजारमा छ्याप्छ्याप्ती छन् ।

तपाईको प्रतिक्रिया