भूकम्पबाट अति प्रभावित ११ जिल्लाको तथ्याङ्क सङ्कलन ७५ प्रतिशत सम्पन्न

काठमाडौँ–१९ चैत । भूकम्पबाट अतिप्रभावित काठमाडौँ, ललितपुर र भक्तपुरका भूकम्प प्रभावितहरुको क्षतिको तथ्याङ्क सङ्कलन एक महिनापछि मात्र सुरु हुने भएको छ । काठमाडौं उपत्यकाको तथ्याङ्क सङ्कलन प्रभावित क्षेत्रमा मात्र गर्ने गरी बनाइएको छ । भूकम्पबाट अति प्रभावित ११ जिल्लाको तथ्याङ्क सङ्कलन ७५ प्रतिशत सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।bhukampa

भूकम्पपछि आवास भत्किएर टहरामा बस्नेका लागि आवास निर्माण गर्न सरकारले अनुदान दिने घोषणा गरेको रु दुई लाख वितरण गर्न अतिप्रभावित १४ जिल्लामध्ये ११ जिल्लामा तथ्याङ्क सङ्कलन गत पुस २० देखि सुरु भएको थियो । दोलखा, गोरखा, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, ओखलढुङ्गा, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक र मकवानपुरमा विश्व बैंकको आर्थिक सहयोगमा भूकम्पपछिको तथ्याङ्क सङ्कलन कार्य भइरहेको छ ।
दोलखाका हिमाली, लामाबगर र गौरीशङ्कर गाविसमा तथ्याङ्क सङ्कलन बाँकी छ, जिल्लाका अन्य गाविस एवम् नगरपालिकामा सङ्कलन सकिएको छ, अन्य १० जिल्लामा ७५ प्रतिशत काम सकिएको छ, उपत्यकाका तीन जिल्लामा एक महिनापछि सङ्कलन कार्य सुरु हुने विभागको भनाई छ । तथ्याङ्क सङ्कलन गरिएका ११ जिल्लामा विसं २०६८ को जनगणनाअनुसार साढे सात लाख घरधुरी भएकामा भूकम्पपछि विभागको नेतृत्वमा ७५ प्रतिशत घरधुरी सङ्कलन सकिँदा पाँच लाख घरधुरी नाघेको छ । ११ जिल्लामा पूरै घरधुरी सङ्कलन सक्दा नौ लाख नाघ्न सक्ने अनुमान छ ।
स्वास्थ्य शिक्षा अनुसन्धान र विकास संस्थाले खटाएका इन्जिनियरले जिविसका सामाजिक परिचालकलाई लिएर भूकम्पपछि क्षति पुगेका घरका भाग एवम् पीडित परिवारको सामाजिक तथा आर्थिक अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरी अनलाइनबाट क्लिक गर्नेबित्तिकै विभागको सर्भरमा सूचना आउने प्रविधि विकास गरिएको छ । यो तथ्याङ्क सङ्कलन गर्दा भूकम्पबाट क्षति भएको संरचना र परिवारको तस्बिर पनि खिचेर पठाइने भएकाले गलत सूचना कम हुनेछ । यस्तो तथ्याङ्क विभागमा प्राप्त हुनेबित्तिकै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइने गरिएको छ ।
भूकम्पपछि विभागको नेतृत्वमा सबैभन्दा बढी तथ्याङ्क सङ्कलन गरिएको दोलखामा ७० हजार भन्दा बढी घरधुरी ननाघ्ने देखिएको छ । भूकम्पपछि लगत्तै रु १५ हजार लिने घरधुरीको सङ्ख्या दोलखामा ८८ हजार थियो । विसं २०६८ को जनगणनाअनुसार दोलखामा ५५ हजार घरधुरी थिए । रु १५ हजार लिन दोलखामा एक परिवारका चारजनासम्मले भूकम्पपीडित परिचयपत्र बनाएको तथ्याङ्क सङ्कलनमा भेटिएको छ । तथ्याङ्क सङ्कलन सकिएका स्थानमा आवास निर्माणका लागि तीन किस्तामा आर्थिक सहयोग वितरण गर्ने काम पनि दोलखाबाटै सुरु भएको छ । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु ८० हजार र तेस्रो किस्तामा रु ७० हजार सहयोग गर्ने नीति निर्माण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।
विभागले वैशाख मसान्तसम्म ११ जिल्लाको भूकम्पपछि क्षतिको तथ्याङ्क सङ्कलन सक्ने लक्ष्य लिएको छ । वैशाख तेस्रो सातासम्म काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरको तथ्याङ्क सङ्कलन सुरु गरिनेछ । जेठ मसान्तसम्म तिनै जिल्लाको तथ्याङ्क आइसक्नेछ । १४ जिल्लाको सङ्कलन सकेर प्रभावित ३१ जिल्लाको तथ्याङ्क सङ्कलन सुरु गर्ने विभागको कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया