मुस्ताङ–बैशाख १९ । मुस्ताङ सदरमुकाम जोमसोम जोड्न कालीगण्डकीमाथि निर्माण गरिएको झोलुङे पुल जीर्ण बन्दा यस क्षेत्रका सर्वसाधरणलाई समस्या भएको छ ।
जोमसोम बजारसहित उपल्लो क्षेत्रलाई जोड्ने एकमात्र पुल जीर्ण भएपछि सर्वसाधारणको आवतजावतमा समस्या उत्पन्न भएको हो । पुलमा राखिएका काठ भाँच्चिएका र कुहिएका कारण सर्वसाधारणको यात्रामा जोखिम बढेको छ ।
कालीगण्डकीमाथी पक्की पुल निर्माणको कार्य जारी रहेका अवस्थामा मात्रै होइन, वर्षौंदेखि जोमसोम र उपल्लो मुस्ताङका सर्वसाधारण यही पुलको बाटो भएर यताउता आवतजावत गर्ने गर्थे । तर पुलको जिर्णोद्धारमा कसैले ध्यान नदिदा सर्वसाधारणको यात्रामा समस्या पैदा भएको छ ।
भूकम्प र नाकाबन्दीको संत्रास सकिएपछि पर्यटकको चाप पनि बढ्दै गएको छ । तर दैनिक पाँच हजार भन्दा बढी सर्वसाधारणले आवतजावत गर्ने पुल नै जीर्ण बन्दा ठूलो समस्या ब्यहोर्नुपरेको मुस्ताङका सर्वसाधारणको गुनासो छ । गतवर्षको भूकम्पबाट जीर्ण बनेको पुल जिल्ला विकास समिति र स्थानीयवासीको पहलमा मर्मतपछि सञ्चालनमा ल्याइएपनि संरक्षण र जिर्णोद्धारको अभावमा बेवारिसे बनेको छ ।
करिब ७० वर्ष पुरानो मानिने पुल जीर्ण बनेपछि समस्यामा परेका सर्वसाधरण जीवीसले ५० देखि एक लाख उपलब्ध गराए आफै मर्मत गरेर सञ्चालनमा ल्याउने बताउँछन । जिल्ला विकास समितिले सर्वसाधारणको पीडा बुझ्न नसकेको आरोप स्थानीयको छ ।