काठमाडौं–जेठ १० । ११ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामाले “२२ औं ट्राडिसनल कराते डो आमन्त्रण च्याम्पियनसिप” मा स्वर्ण पदक प्राप्त गरेका छन् ।
सोतोजुकु कराते डोजोको आयोजनामा मे २२, २०१६ मा न्यूयोर्कमा आयोजित प्रतियोगिताको ६७ केजी तौल समूहमा पहिलो चरणमा वाई पाउँदै सेमिफाइनल प्रवेश गरेका सुनिलले अमेरिकी खेलाडी जोय कास्ट्रोलाई ७–३ अंकले पराजित गर्दै फाईनलमा स्थान बनाएका थिए । फाईनलमा विल टोरेसलाई १–० ले पराजित गर्दै स्वर्ण हात पार्न सफल भएको सुनिलले बताएका छन् । सो प्रतियोगितामा १३ औं बैंकक एशियाडमा करातेका कास्य पदक विजेता सम्बर बहादुर गोलेले निर्णायकको भुमिका निर्वाह गरेका थिए । सुनिल सन् २०१२ मा हङ्गकङ्गमा आयोजित १३औं एशियन प्यासिफिक कराते प्रतियोगिताका पनि स्वर्ण विजेता हुन् ।
अमेरिकाको न्यू योर्कस्थित गोसिन रियो कराते एकेडेमीमा प्रशिक्षण लिई रहेका सुनिलले यस अघि पनि न्यू योर्कमा अप्रिल २५ मा आयोजित २१ औं एन्युएल हेराल्डोज काई सोबुकान कराते च्याम्पियनसिपमा स्वर्ण जित्दै २०० युएस डलर हात पारेका थिए । सुनिल प्रशिक्षणका लागि करिव ३ महिना अमेरिकामै रहने छन् ।