काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनबाट ‘गोल्डेन गेट’सम्म नि:शुल्क ‘सटल बस सेवा’ सञ्चालनमा आएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले बुधबार सटल बसको शुभारम्भ गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ट्याक्सीको मनोमानी रोक्न आन्तरिक टर्मिनल स्टेशनमा तीनवटा माइक्रोबस सञ्चालनमा ल्याएको हो
आन्तरिक हवाई यात्रुलाई ध्यानमा राखेर माइक्रोबसलाई सटल बसको रुपमा विमानस्थलबाट निःशुल्क सेवा सुरु गरिएको हो । सटल बस बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने भएका छन् ।
यसै अवसरमा मन्त्री आलले वैदेशिक रोजगारीमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ४० यात्रु बस्न मिल्ने विश्रामकक्षको समेत उद्घाटन गरेका छन्।