पोखराको सराङ्कोट हाइटमा स्वार्थ समूहको ठूलो चेलखेल, सार्वजनिक जग्गामा राँइदाँइ (श्रृङखला–एक)

कास्की । सराङ्कोट भन्ने वित्तिकै पोखरा पुगेका र बुझेकाहरूका लागि परिचित नाम हो । माच्छापुच्छ्रे, अन्नपूर्ण, धौवलागरी सहितका हिमालको मनोरम दृश्यावलोकन गर्न सकिने नेपालको एक मात्र ठाउँ पनि सराङ्कोट नै हो । सूर्योदय र सूर्यअस्तदेखि प्याराग्लाइडिङको हब पनि यही सराङ्कोट हो । तर पछिल्लो एक दशक यता यो भूमि स्वार्थ समूहले रजाई गर्ने थलो बनेको छ ।

पोखराको सेती बगरदेखि सराङ्कोटसम्म अहिले अन्नपूर्ण केवलकार सञ्चालित छ । यही अन्नपूर्ण केवलकार कम्पनीका सञ्चालकहरूले निहित स्वार्थ पूरा गरी गैर कानूनी रूपमा आर्थिक लाभ लिने प्रपञ्च रचेर सराङ्कोटको टपको सार्वजनिक जग्गामा धमाधम डोजर चलाईरहेका छन् । केवलकारले अपेक्षित आम्दानी गर्न नसकेपछि सराङ्कोटको टपमा ६० फिट अग्लो पञ्चमुखी मूर्ति बनाउने र त्यसलाई देखाएर पर्यटकको ध्यान तान्ने दाउमा रहेको अन्नपूर्ण केवलकारले विभिन्न साँठगाँठ गरी सराङ्कोट सार्वजनिक जगा हत्याएर आफ्नो स्वार्थ पूर्ति गर्ने बाटो रोजेको हो ।

पोखरा महानगरपालिका वडा नं १८ मा पर्ने यो ठाउँको जग्गा हत्याउन यो स्वार्थ समूहले आँखा गाडेको धेरै समय भइसक्यो । यो समूहलाई यहाँको सार्वजनिक जग्गा दिन्न अहिले सराङ्कोट छाडेका तर सराङ्कोटकै नाममा राजनीतिक गर्ने केही व्यक्तिको भूमिका अहम छ । स्वार्थ समूहका प्रवेश गराउन सराङ्कोट धार्मिक एबं पर्यटन क्षेत्र विकास समिति कतिपय सदस्यको हात रहेको स्थानीय अगुवा एंब पत्रकार बलराम तिमिल्सिना बताउँनुहुन्छ । सराङ्कोटमा धार्मिक पर्यटन विकासका लागि भन्दै दशक पहिला यो समिति गठन भएको थियो । यो समितिले शिव मन्दिर निर्माणका लागि भन्दै अहिलेसम्म ६ पटक त महायज्ञ नै गरिसकेको छ ।

मन्दिर निर्माणकै नाममा आयोजना गरिएको महायज्ञमा तत्कालीन राजा ज्ञानेन्द्र समेत सहभागी हुनुभएको थियो । शिव मन्दिर निर्माणका नाममा पटक–पटक महायज्ञ गर्ने, दाताहरूसँग चन्दा संकलन गरी ठूलो रकम उठाइएपनि यो समितिले न त आजका दिनसम्म शिव मन्दिर निर्माण गरेको छ, न त दाताहरूबाट संकलित रकमको हिसाब किताब नै सार्वजनिक गरेको छ ।

पटक–पटक आर्थिक पारदर्शिता माथि प्रश्न उठ्ने गरेको यही समितिका ठालू पदाधिकारीहरू नै स्वार्थ समूहसँग मिलि सार्वजनिक जग्गा मास्ने प्रपञ्च रचेका हुन् । यो धार्मिक समितिका नाममा भोग चलन गर्ने भन्दै छुट्याइको सार्वजनिक जग्गा अन्नपूर्ण केवलकार सञ्चालक र धार्मिक समितिका पदाधिकारीको चेलखलमा मास्न लागिएको स्थानीय स्रोतले नेपाल परिक्रमालाई जानकारी दिएको छ । धार्मिक समितिका पदाधिकारीलाई आर्थिक लोभमा पारी सार्वजनिक जग्गा कब्जा गरेर व्यापार चलाउने खेल भएपछि अहिले स्थानीयहरू आक्रोशित बनेका छन् ।

आक्रोशित स्थानीय अहिले संघर्ष समिति नै गठन गरी ऐतिहासिक महत्व बोकेको सराङ्कोटको सार्वजनिक भूमि बचाउन लागेका छन् । धार्मिक समितिले क्षेत्राधिकार नै मिचेर सराङ्कोट हाइटमा बनाउँदै गरेको भ्यू टावर सहितका संरचना पनि अहिले अलपत्र छन् ।

(सराङ्कोट हाइटको सार्वजनिक जग्गा माथिको अतिक्रमण नरोक्दिा र सम्बन्धित निकायको ध्यान आर्कषण नहुँदासम्म नेपाल परिक्रमा डट.कमले श्रृङ्खलबद्ध रूपमा खबरदारी गर्नेछ । यसै अन्र्तगतको पहिलो श्रृङ्खला )

तपाईको प्रतिक्रिया