काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा रहेका विविध समस्यालाई उजागर गर्ने उदेश्यले ११ महिनाअघि शुरू भएको पाठयपुस्तक अडिटको काम मस्यौदा चरणमा पुगेको छ । शुरूमा देशका केही जिल्लामा पाइलट प्रोजेक्टमा रूपमा शुरू भएको पाठयपुस्तक अडिटका क्रममा संविधानको मर्मले बोकेका समावेशिता, समता, समानताजस्ता विषयमा ब्यापक कमजोरी रहेको पाइएको छ ।
नेपालको समग्र शिक्षाको विकासकालागि शिक्षाविद् होमराज आचार्यले स्थापना गरेको गैरनाफामूलक संस्था एजुकेशन इन एभ्री होमले अहिले देशका विभिन्न जिल्लामा निर्धारित पाठयपुस्तक अध्ययन गरी त्यस्ता पाठयपुस्तकमा रहेका र अध्यापन क्रममा देखिएका कमजोरीहरूको धरातलमै पुगेर तथ्याङ्क संकलन गरिसकेको छ । अहिले संकलित तथ्याङ्कका आधारमा प्रतिवेदनको मस्यौदा अन्तिम चरणमा पुगेको संस्थाका सस्थापक शिक्षाविद् होमराज आचार्यले बताउनुभयो ।
पाठयपुस्तक अडिटकै क्रममै एजुकेशन इन एभ्री होमको आयोजना तथा लुम्बिनी प्रदेश सरकार, मानवअधिकार आयोगसहित शिक्षा सम्बद्ध व्यक्तिहरूको सहभागितामा लुम्बिनी प्रदेशमा हालसालै एकदिने छलफल कार्यक्रम पनि भयो । उक्त छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले नेपालको शिक्षा प्रणालीमा देखिएका समस्या समाधानकालागि पाठयपुस्तक अडिट कोसेढुङ्गा सावित हुने धारणा राखेका थिए । पाठयपुस्तक अडिटको अन्तिम प्रतिवेदन भने आगामी माघसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ ।
के हो पाठयपुस्तक अडिट अभियान ?
राज्यले अंगिकार गरेको नीतिअनुसार पाठयक्रममा व्यवहारिक पक्ष के छ ? सिद्धान्त र व्यवहारिक पक्षबीच तालमेल मिलेको छ कि छैन ? पाठयपुस्तक संविधानले आत्मसात् गरेका समावेशिता, समानता, समतालगायतका विषयबस्तु समेटिएका छन् कि छैनन् ? जातीय र लैङ्गिकता विषयलाई के कसरी समेटिएको छ ? यस्ता विषय ठोस रूपमा पहिचान गरी शिक्षा क्षेत्रका समस्या पहिचान र तिनको उचित समाधान गर्ने उदेश्यले यो कार्यक्रम अगाडि बढाइएको हो ।