तोरीपानीबाट पुन: प्याराग्लाइडिङ शुरू भएपछि स्थानीयको स्वागत

रमेश तिमिल्सिना,

पोखरा–असोज २८ ः पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनमा आएपछि हवाई सुरक्षाको कारण देखाउँदै स्थानान्तरण भएको प्याराग्लाइडिङ आजदेखि पुन: सञ्चालनमा आएको छ । प्याराग्लाइडिङ पुन सञ्चालनमा आएपछि तोरीपानी युवा क्लब, एकघरे आमा समूह, टोल विकास संस्था लगायत स्थानीयले भब्य स्वागत गरेका छन् ।

केही समय स्थानान्तरण भई पुन प्याराग्लाईडिङ पहिलेकै ठाउँबाट सञ्चालमा आएपछि स्थानीयहरू हर्षित भएका हुन् । यसअघि सराङ्गकोटको तोरीपानीबाट सारेर कास्कीको मान्द्रेढुङ्गामा लगिएको प्याराग्लाइडिङमा टाढा भएकाले पर्यटकहरूले रूची राखेका थिएनन् । सारिएको ठाउँ पहिलेजति मनोरम नभएकाले पनि त्यो ठाउँमा प्याराग्लाइडिङ गर्नेको आर्कषण थिएन । यता तोरीपानीबाट भने हिम श्रृङखला र फेवातालको मनोरमदृश्यमा प्याराग्लाइडिङको मञ्जा बग्लै थियो ।

तोरीपानीबाट उडान भर्दा अन्तर्राष्ट्रिय विमानस्थललाई असर पर्ने भनेर प्याराग्लाइडिङ सारिएको भएपनि पछिल्लो समय असर नगर्ने पुष्टि भएपछि प्याराग्लाइडिङ व्यवसायलाई पुनः तोरीपानीबाट सञ्चालनमा ल्याँउदाआफूहरू निकै हर्षित भएको पर्यटन व्यवसायी तथा तोरीपानी युवा क्लबका सल्लाहकार प्रेम तिमिल्सिना बताउनुहुन्छ ।

त्यसैगरी तोरीपानी युवा क्लबका अध्यक्ष वसन्त तिमिल्सिनाले पनि तोरीपानीबाट पुनः प्याराग्लाइडिङ शुरू भएपछि यस क्षेत्रको पयर्टन व्यवसायमा सुधार हुने बताउनुभयो । प्याराग्लाइडिङलाई पुनः तोरीपानीबाट सञ्चालन गर्न स्थानीय निकाय, प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, नेपाल एयर स्पोर्ट एशोसिएसन लगायतका संस्थाको भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया