उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य

बेइजिङ, २ कात्तिक  : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।

“उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण सङ्केत देखिएको छ”, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।
छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुग्नुभएको थियो । अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन ९बीआरएफ०’मा सहभागी हुन चीनको बेइजिङ आइपुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गए राति हृदयघात भएको थियो ।


चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उहाँको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उहाँलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँका अनुसार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया