जेठ ११ । एपीएफका शिवसुन्दर गोथे भेनस कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको फाइनल खेलमा पुलिसका दीप साउनलाई पराजित गर्दै एपीएफका गोथेले सिनियर पुरुष सिंगलको उपाधि जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा गोथेले साउनलाई ४–१ को सेटमा पराजित गर्न सफल भए । पहिलो सेट १४–१२ ले आफ्नो पक्षमा पारेको गोथेले दोस्रो सेट भने साउनसंग ७–११ ले पराजित भएका थिए । तेस्रो, चौथौ र पाचौं सेट भने गोलेले साउनलाई ११–९, १२–१० र ११–७ ले पराजित गर्न सफल भयो । त्यस्तै, प्रतियोगितामा महिला सिनियर सिंगलको उपाधि भने पुलिसकी नविता श्रेष्ठले जितेकी छिन् । आजै भएको खेलमा नविता श्रेष्ठले प्रहरीकै एलिना महर्जनलाई चार–शून्यको सोझो सेटमा पराजित गर्दै प्रथम बनेकी हुन् । नविताले एलिनालाई ११–१०, ११–८, ११–७ र ११–८ को सेटमा पराजित गरेकी हुन् । सेमिफाइनलमा प्रहरीकी एरिका महर्जनलाई पराजित गर्दै नविता फाइनलमा प्रवेश गरेकी थिइन भने एलिना महर्जनले आर्मीकी रविना महर्जनलाई सेमिफाइनला पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पुरुष तथा महिला खेलाडीले क्रमश २५ हजार, १५ हजार र ५ हजार नगदसहित ट्रफि र मेडल हात पारेका छन् । काठमाडौं जिल्ला टेबुल टेनिस संघले गरेको प्रतियोगितामा तीन विभागीय टोलीसहित ८ जिल्लाका २ सय २५ खेलाडीको सहभागिता रहेको थियो ।